घर तथा घरपरिवार सूचीकरण गर्न छुट भएमा यहाँ क्लिक गर्नुहोस्

FAQs

जनगणना भन्नाले देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले त्यसरी सङ्कलन भएको तथ्याङ्क प्रशोधन, प्रकाशन एवं वितरण गर्ने समष्टिगत प्रक्रियालाई समेत जनाउँछ ।
अक्सर बसोबास भन्नाले व्यक्ति धेरैजसो वा प्रायगरी बस्ने ठाउँलाई बुझ्नु पर्दछ । कुनै व्यक्तिको अक्सर बसोबास निजको आफ्नै स्थायी घर भएको ठाउँ वा अस्थायी रुपमा बसोबास गरेको ठाउँ वा अन्य व्यक्तिको घरमा पनि हुनसक्दछ । राष्ट्रिय जनगणना २०७८ मा व्यक्तिको गणना अक्सर बसोबास गरेको स्थानबाट गरिन्छ । साथै कुनै व्यक्ति दुई वा सोभन्दा बढी ठाउँमा बसोबास गर्ने गरेका रहेछन् भने निज सबैभन्दा वढी समय जहाँ बस्छन् त्यही स्थानलाई अक्सर बसोबासको स्थान मानिन्छ ।
नेपालको कुन कुन क्षेत्र तथा भूभागमा के कति मानिस बसोबास गर्छन्, तिनीहरूमध्ये महिला, पुरुष, अन्य लिङ्गी, बालबालिका, काम गर्ने उमेर समूह र बृद्ध–बृद्धाको संख्या कति छ, तिनीहरूको बासस्थान र सुविधा के कस्ता छन्, मानिसहरू के कस्ता पेशा ब्यवसाय गर्छन्, रोजगारीको अवस्था कस्तो छ, विभिन्न स्थानमा कुन कुन जातजाति, भाषाभाषी र धर्मावलम्बीहरू के कति संख्यामा छरिएर रहेका छन्, तिनीहरूको शिक्षा र साक्षरताको अवस्था कस्तो छ, बसाइँसराईको अवस्था कस्तो छ, जन्म तथा मृत्युको अवस्था कस्तो छ, कति मानिस शारीरिक वा मानसिकरूपमा अपाङ्गता भएका व्यक्ति छन्, कति व्यक्ति विदेश गएका छन्, जस्ता थुप्रै जनसांख्यिक, सामाजिक तथा आर्थिक गतिविधि सम्बन्धी विवरणहरू जनगणनाबाट प्राप्त हुन्छ ।
जनगणनाले शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायतका अन्य भौतिक संरचना जस्ता विकास कार्यका साथै बृद्धभत्ता, अपाङ्गता भत्ता, विधवा तथा असहाय भत्ता, विशेष व्यवस्था तथा सामाजिक सेवा र सुरक्षा सम्बन्धी कार्यक्रम तयार गर्नको लागि चाहिने आधारभूत तथ्याङ्क उपलब्ध गराउँछ । जनगणनाबाट प्राप्त तथ्याङ्ककै आधारमा विगत दश वर्षमा नेपालले विकासका विभिन्न क्षेत्रमा हासिल गरेको प्रगतिको स्थिति समेत आंकलन गर्न सकिन्छ । यसका अतिरिक्त भविष्यमा देश विकासको लागि सञ्चालन गरिने लैङ्गिकमैत्री तथा सामाजिक समावेशी विकासको लागि आवश्यक पर्ने वडा तहसम्मको आधारभूत तथ्याङ्क समेत जनगणनाबाटै उपलब्ध हुन्छ । यी तथ्याङ्क नीति निर्माता, योजनाकार तथा अध्ययन अनुसन्धानकर्ताका लागि पनि अत्यन्तै उपयोगी हुन्छ । संक्षेपमा भन्नु पर्दा सामाजिक, आर्थिक, राजनैतिक र वातावरणीय हिसाबले महत्वपूर्ण तथ्याङ्क प्राप्तिका लागि जनगणना गरिन्छ ।
जनगणनाको प्रमुख उद्देश्य जनसंख्याको प्रवृत्ति र विशेषताहरूको बारेमा जानकारी गराउने, लोककल्याणको लागि योजना, नीति तथा कार्यक्रम तर्जुमा गर्न आवधिक रूपमा जनसांख्यिक तथ्याङ्क तथा सूचक उपलब्ध गराउनु हो ।
जनगणनाले मुलुकको जनसंख्याको आकार, वनावट, वितरण र वृद्धिसम्बन्धी सवै भन्दा पछिल्लो तथ्याङ्क उपलब्ध गराउँदछ । यसवाट नै सवैभन्दा सानो प्रशासकीय एकाइ वडातहसम्मको लैङ्गिक तथा समावेसी तथ्याङ्क प्राप्त हुने भएकोले विकास निर्माणका काम तथा लक्षित कार्यक्रमहरु तर्जुमा तथा सञ्चालन गर्न आवश्यक पर्ने अति उपयोगी सूचना प्राप्त हुन्छ । त्यसैले बाटोघाटो, पुल, विद्यालय, उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिंचाइ, खाद्यान्न आपूर्ति, बसोबास व्यवस्था, विकास बजेटको बाँडफाँड र मानवविकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रमहरु आदि सञ्चालन गर्न आवश्यक पर्ने तथ्याङ्क समेत जनगणनाबाट प्राप्त हुने भएकोले यसको ठूलो महत्व छ । संविधानमा व्यवस्था भएको मौलिक हकहरू जस्तैः महिलाको हक, दलितको हक, सामाजिक न्यायको हक, आवासको हक, बालबालिकाको हक लगायत अन्य हकहरूको कार्यान्वयन गर्न र त्यसको मूल्यांकन गर्न, आम नागरिकको सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गर्न, संघ, प्रदेश र स्थानीय तहमा वित्तीय स्रोत बाँडफाँड लगायतका कार्य गर्न जनगणनाबाट प्राप्त तथ्याङ्कको निकै महत्व हुन्छ । साथै दिगो विकासका लक्ष्यहरुको मापन गर्न समेत जनगणनाको तथ्याङ्कको ठूलो महत्व हुन्छ ।
नेपाल सरकारको मिति २०७६ श्रावण ६ गतेको राजपत्रमा प्रकाशित राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ बमोजिम नेपाल सरकार, राष्ट्रिय योजना आयोग अन्तर्गतको आधिकारिक निकाय केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ सञ्चालन गर्दैछ ।
जनगणनामा आउने सुपरिवेक्षक र गणकलाई सही विवरण दिई सहयोग गर्न र जनगणनामा सहभागी हुन नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशकले अनुरोध पत्र पठाउने छन् । सुपरिवेक्षक तथा गणकले सोधेका सबै प्रश्नको सही जवाफ दिनु पर्दछ । जनगणनामा तीन प्रकारले सहभागी हुन सकिन्छ ।

क) काठमाण्डौं उपत्यकाका केही नगरपालिकामा सुपरिवेक्षक तथा गणकले प्रत्यक्ष अन्तर्वार्ता गरी हाते कम्प्युटर (ट्यावलेट) मा विवरण भर्ने छन्।
ख) हाते कम्प्युटर (ट्यावलेट) बाट विवरण संकलन गरिने बाहेकका स्थानीय तहमा सुपरिवेक्षक तथा गणकले प्रत्यक्ष अन्तर्वार्ता गरी कागजी प्रश्नावलीमा विवरण भर्ने छन् ।
ग) विदेशस्थित नेपाली दुतावास र महाबाणिज्य दुतावासमा कार्यरत कर्मचारीहरुले विद्युतिय माध्यम (इसेन्सस्) बाट स्वयंले आफ्नो र सँगै बस्ने परिवारको विवरण भरी पठाउनु पर्नेछ।
संघीय संरचनामा जनगणनाबाट प्राप्त हुने तथ्याङ्क संघ, प्रदेश र स्थानीय तहका सरकारको लागि आधारभूत तथ्याङ्कको स्रोत हुने र राज्यलाई निरन्तर पृष्ठपोषण उपलब्ध गराउन आम प्रयोगकर्ताहरू जस्तैः बुद्धिजीवि, राजनीतिकर्मी, समाजसेवी, सञ्चारकर्मी, उद्योगपति, व्यापारी, प्राज्ञिक वर्ग, जनसंख्या विज्ञ, अनुसन्धानकर्ता, समाजशास्त्री, योजनाकार, अर्थविज्ञ, शिक्षक, विद्यार्थी, लगायत आम नागरिकले जनगणनाबाट प्राप्त तथ्याङ्क प्रयोग गर्दछन् ।यसका अतिरिक्त अन्तराष्ट्रिय जगतले पनि जनगणनाको तथ्याङ्क प्रयोग गर्दछन् ।
राष्ट्रिय जनगणना २०७८ देशैभर एकै साथ सञ्चालन गरिँदैछ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचिकरण कार्य वि.सं. २०७८ साल भाद्र ३० देखि आश्विन १८ गतेसम्म (बीस दिन) र दोश्रो चरणमा मुख्य प्रश्नावलीको विस्तृत विवरण संकलन कार्य वि.सं. २०७८ साल कार्तिक २५ देखि २०७८ मंसिर ९ गतेसम्म (पन्ध्र दिन) सञ्चालन गरिँदैछ । दोश्रो चरणमानै प्रत्येक वडावाट सामुदायिक प्रश्नावली मार्फत वडास्तरीय विवरण संकलन गरिंदैछ ।
पहिलो चरणमा आउने सुपरिवेक्षकले घरको र घरमा अलग अलग भातभान्सा गरी बस्दै आएका सबै परिवारको सूची तयार गर्नेछन् । यस क्रममा नीजले घरको प्रयोगसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गर्ने सवै महिला, पुरूष र अन्य लिङ्गीको सङ्ख्या, परिवारले कृषि तथा पशुपालन कार्य गरेको भएमा सो सम्बन्धी विवरण, बैंक तथा वित्तीय संस्थामा खाता भए नभएको, ऋण लिए नलिएको, व्यवसायिक शिक्षा तथा तालिम लिए नलिएको र सरकारी अनुदानवाट आवासिय घर निर्माण गरे नगरेको सम्वन्धमा प्रश्नहरु सोध्नेछन् ।
दोस्रो चरणमा गणकले पारिवारिक र व्यक्तिगत प्रश्नहरू सोध्नेछन् । पारिवारिक प्रश्न अन्तर्गत घरको वनोट (भुइँ, जग, गारो, छानो), परिवारले प्रयोग गरेको खानेपानी, खाना पकाउने इन्धन र बत्तीको स्रोत, चर्पीको प्रकार तथा घरायसी सुविधा र साधन, महिलाका नामका घरजग्गा भए नभएको, परिवारले सञ्चालन गरेका साना घरेलु व्यवसाय, मृत्यु सम्वन्धी र विदेश गएका व्यक्ति सम्वन्धी प्रश्नहरू पर्दछन् ।

व्यक्तिगत प्रश्न अन्तर्गत परिवारमा अक्सर बसोबास गरिरहेका व्यक्तिको नाम, थर, उमेर, लिङ्ग, वालवालिकाको जन्मदर्ता र वसाइँको अवस्था, विवाह, जातजाति, भाषा, धर्म, शिक्षा, अपाङ्गता, जन्म, मृत्यु र बसाइँसराई जस्ता जनसांख्यिक तथा सामाजिक विवरणका अतिरिक्त आर्थिक क्रियाकलाप सम्वन्धी प्रश्नहरू पर्दछन् ।
दोश्रो चरणमा सुपरिवेक्षकले प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावली मार्फत वडास्तरको आधारभूत स्रोत, साधन, क्षमता, पूर्वाधार र विपद् सम्बन्धी विवरणहरू सम्बन्धी प्रश्नहरु सोधिन्छ ।
जनगणनामा कोही नछुट्ने र कोही नदोहोरिने गरी तथ्याङ्क संकलन गर्नुपर्ने भएकोले परिवारलाई गणनाको एकाइ मानी जो व्यक्ति जुन परिवारमा अक्सर बसोबास गर्दछन् उक्त व्यक्तिको गणना सोही परिवारबाट गरिन्छ । सामान्यतया गणना प्रयोजनको लागि परिवार भन्नाले एउटै आर्थिक व्यवस्थापनमा चलेको, एउटै छानामुनी बसोबास गरी साझा भान्सामा खाना खाने व्यक्ति वा व्यक्तिहरूको समूहलाई बुझिन्छ । एकै परिवारमा अक्सर बसोबास गरिरहेका नाता पर्ने वा नपर्ने दुवैथरीका व्यक्तिहरूको गणना सोही परिवारबाट नै गरिन्छ ।
यस पटकको जनगणनाको नारा नै “मेरो गणना, मेरो सहभागिता” हो । त्यसैले हामी सबैले स्वतःस्फुर्त रूपमा जनगणनामा आफ्नो घर तथा परिवारका सदस्यको सही विवरण लेखाउन छुट्छ कि भन्ने कुराको जिम्मेवारी लिनु पर्ने हुन्छ र जनगणनामा सोधिएका प्रश्नहरूको ठीक ठीक जवाफ दिई गणना कार्यमा सहयोग गर्नु पर्दछ । यसका अतिरिक्त आफ्नो टोलवासी, छिमेकी, नातागोता र साथीभाईहरूको घरमा सुपरिवेक्षक तथा गणक पुगे नपुगेको सोध खोज गरी उनीहरुलाई जनगणनामा अनिवार्य सहभागी हुन र विवरण दिन अभिप्रेरित गर्न सकिन्छ ।
राष्ट्रिय जनगणना नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभागको नेतृत्वमा सञ्चालन हुने भएतापनि सबै व्यक्ति, समुदाय तथा संस्थाको पूर्ण सहभागिता बिना यसलाई पूर्णरुपमा सफलतापूर्वक सम्पन्न गर्न सम्भव छैन । यस नाराको मुल आसय जनगणनालाई मेरो गणना हो भन्ने भावना जागृत गराई आफ्नो गणनाको सुनिश्चतता गराउने हो । तसर्थ हामी सबैले स्वःस्फुर्तरुपमा आफ्नो विवरण टिपाउने र छिमेकी, साथीभाई, नातागोताका व्यक्तिलाई पनि जनगणनामा भाग लिई सही विवरण दिन आह्वान गरी सहभागिता जनाउन सकिन्छ भनिएको हो।
गणक तथा सुपरिवेक्षकहरूलार्इ हामी सबैले आ-आफ्नो परिवारको सही विवरण उपलब्ध गराएर सहयोग गर्नु पर्दछ । यसका अतिरिक्त छिमेकी, साथीभाई, नातागोताका व्यक्तिलाई पनि जनगणनामा सहभागि भई सही विवरण दिन आह्वान गर्ने, सामाजिक सञ्जाल वा अन्य कुनै माध्यम मार्फत जनगणना सञ्चालन हुने मिति, जनगणनाका प्रचार प्रसार सामग्री आदान प्रदान गर्ने र जनगणनामा खटिएर हरेक घरदैलोमा आउने गणक तथा सुपरिवेक्षकहरूलार्इ छरछिमेकीको घर पहिचान गर्न सहयोग गरेर तथा गणनामा कोही छुटेको भए सो को जानकारी गराएर अमूल्य सहयोग गर्न सकिन्छ ।
जनगणना कार्यमा स्वसाझेदारीको भावना बमोजिम विभिन्न संघसंस्थाहरूले आफ्नो कार्यालय परिसरमा केन्द्रीय तथ्याङ्क विभागले डिजाइन गरेका जनगणना ब्यानर, पोस्टर तथा स्टिकर स्वःस्फुर्त रूपमा राख्ने, केन्द्रीय तथ्याङ्क विभागले तयार गरेका प्रचार प्रसारका सामग्री वितरणमा सहयोग गर्ने, जनगणना कार्यालयहरूले अनुरोध गरेको अवस्थामा तालिम हल, कम्प्युटर, प्रोजेक्टर जस्ता सामाग्री उपलब्ध गराउने, संघसंस्थाको लेटर प्याडमा जनगणनाको नारा तथा लोगो राख्ने, जनगणनामा खटिएर आउने गणक तथा सुपरिवेक्षकहरूलार्इ सही विवरण उपलब्ध गराउनका लागि आफ्ना सदस्य एवं कर्मचारीहरूलार्इ अनुरोध गर्ने जस्ता अमूल्य सहयोग गर्न सक्दछन् ।
राष्ट्रिय जनगणनाबाट आम सर्वसाधारणको जीवनको हरेक क्षेत्रमा अल्पकालिन तथा दीर्घकालिन विकासका लागि सरकारले बनाउने नीति, योजना तथा कार्यक्रमलाई आवश्यक पर्ने आधारभूत तथ्याङ्क उपलब्ध हुन्छ ।
कोभिड संक्रमणको जोखिमलार्इ मध्यनजर गर्दै केन्द्रीय तथ्याङ्क विभागले जनगणनामा खटिएर घरघरमा आउने सबै गणक तथा सुपरिवेक्षकहरूलार्इ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको कोभिड संक्रमणको जोखिम न्यून गर्ने मापदण्ड अनिवार्य पालना गर्नुपर्ने व्यवस्था मिलाएको छ ।तदनुरुप सुपरिवेक्षक तथा गणकहरुले मास्क तथा फेससिल्ड लगाउने तथा सेनिटाइजरको प्रयोग र भौतिक दुरी कायम गरी अन्तर्वार्ता सञ्चालन गर्ने छन् । प्रत्येक उत्तरदाताहरूले पनि भौतिक दुरी कायम गर्ने र अनिवार्य मास्क लगाउने जस्ता सुरक्षाका उपायहरू अबलम्बन गर्न केन्द्रीय तथ्याङ्क विभाग सबैमा अनुरोध गर्दछ ।तसर्थ अन्तर्वार्ताको क्रममा कोभिड संक्रमणको जोखिमबाट ढुक्क भई जवाफ दिन आम उत्तरदातालाई केन्द्रीय तथ्याङ्क विभाग विश्वस्थ पार्दछ ।
जनगणनामा संकलित सबै विवरण गोप्य रहन्छ । तपाईले दिएको विवरणको तथ्याङ्क ऐन, २०१५ र यसबमोजिम जारी भएको जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ ले व्यक्तिगत तथ्याङ्कको गोपनियताको सुनिश्चित गरेको छ। जनगणनाबाट प्राप्त तथ्याङ्कहरु व्यक्तिगतरुपमा नभई सामूहिकरुपमा मात्र प्रकाशन र प्रयोग गरिन्छ। अर्थात कुनै व्यक्ति, संस्था वा व्यवसायलाई पहिचान गर्ने जानकारीलाई प्रकाशन गरिदैन। राष्ट्रिय जनगणनामा संकलन गरिने विवरणहरू कुनै पनि कर प्रयोजन तथा अन्य कानूनी प्रमाणको रूपमा प्रयोग गर्न मिल्दैन ।तपाईले दिएको विवरण जनगणनामा खटिने सबै कर्मचारीहरुले संरक्षण र गोप्य राख्ने सपथ खाएका हुन्छन्। यस विपरित काम गरेमा निजहरुलाई प्रचलित कानुन बमोजिम कारवाही र जरिवाना गरिन्छ।
तथ्यांक ऐन, २०१५ तथा राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ बमोजिम जनगणनामा सोधिने सबै प्रश्नको अनिवार्य जवाफ दिनु सबै उत्तरदाताको दायित्व र कर्तव्य हुने उल्लेख गरिएको छ। तसर्थ जनगणनामा सोधिएका सबै प्रश्नहरुको एक एक जवाफ दिनु पर्दछ।
परिवारबाट अनुपस्थित भर्इ विदेशमा बसेका र भविष्यमा परिवारमा पुनः फर्कि आउने सुनिश्चित भएका व्यक्तिहरूको संख्या परिवारमा अनुपस्थित (विदेश गएका) अन्तर्गत लिइन्छ र उनीहरूसँग सम्बन्धित अन्य केही विवरणहरू मात्र लिइन्छ। तर विदेशमा प्रायः बसोबास गर्ने त्यस्ता व्यक्तिहरू सो परिवारमा अक्सर बसोबास गर्ने व्यक्ति नभएकोले जनगणना प्रयोजनको लागि उनीहरुको व्यक्तिगत विस्तृत विवरण भने सो परिवारबाट संकलन गरिंदैन।
जनगणनामा अक्सर बसोबास गर्ने स्थानबाट प्रत्येक व्यक्तिको गणना हुने भएकोले एकै परिवारका व्यक्ति अलग अलग स्थानमा बसोबास गरेको अवस्थामा निजहरुको गणना उनीहरु अक्सर बसोबास गरेकै स्थानबाट हुन्छ ।
नेपालमा कुनै विदेशी नागरिक अक्सर बसोबास गर्ने गरेको भए निजको गणना हुन्छ। तर विदेशी पर्यटक, तिर्थयात्री, उपचारका लागि आएका विदेशी व्यक्ति र कुटनितीक नियोगमा बसोबास गर्ने विदेशी व्यक्तिको गणना गरिदैन।शरणार्थी सिविरमा बसोबास गर्ने शरणार्थी व्यक्तिको गणना गरिदैन ।
तपाईको घरदैलोमा आउने सुपरिवेक्षक तथा गणकहरुले प्रश्नावलीमा उल्लेख भएका प्रश्नहरु बाहेक जस्तैः करको बारेमा, आम्दानी खर्चको बारेमा, बैंक खाता नम्बर लगायत अन्य व्यक्तिगत कुराहरु सोध्ने छैनन्।
राष्ट्रिय जनगणनाको टोल फ्रि नम्बरः ११७८ मा सम्पर्क गरी जनगणनाका बारेमा लागेका जिज्ञासा एवं अन्य सुझावहरू दिन सकिन्छ । टोल फ्रि नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन । यसका साथै निम्नानुसारका सम्पर्क माध्यम प्रयोग गरेर पनि जनगणनाका बारेमा जानकारी लिन सकिन्छः
  1. जनगणना वेवसाइटः https://censusnepal.cbs.gov.np
  2. फेसबुक पेजः https://www.facebook.com/Censusnepal-100119991821399/
  3. जनगणनाको ट्वीटर ह्याण्डलः @CensusNepa।
  4. जनगणनाको यूट्यूब च्यानलः https://www.youtube.com/channel/UCoidjNDWNJkg-RbfYrg1Vjg
  5. फ्याक्स नम्बरः ०१-४२२७७२०
  6. केन्द्रीय तथ्याङ्क विभागको टेलिफोन नम्बरः ०१–४२२९४०६, ४२४५९४६, ४२४५९४७/६)
विभागले गणक तथा सुपरिवेक्षकको सेवा करारमा लिन अनलाईन जनशक्ति भर्ना प्रणाली मार्फत माघको अन्तिम हम्ता भित्र सार्वजनिक सूचना मार्फत दरखास्त आह्वान गर्नेछ। उक्त सुचना प्रदेश सरकार तथा स्थानीय तहमा समेत जानकारी गरिनेछ ।अनलाइन दरखास्त फाराम आफु बसेको ठाउँबाट भर्न सकिन्छ । प्राप्त भएको दरखास्त फारामका आधारमा विभागले निश्चित मापदण्डको आधारमा प्रारम्भिक संक्षिप्त सूची (योग्यता सूची) तयार गरी सबै जिल्ला जनगणना कार्यालयमा उपलब्ध गराउनेछ । यसै प्रारम्भिक संक्षिप्त सूचीको आधारमा गणक तथा सुपरिवेक्षक भर्ना गरिन्छ । 
  • गणक तथा सुपरिवेक्षकको न्युनतम शैक्षिक योग्यता गणकको लागि १०+२ (दश जोड दुई) वा सोसरह उत्तीर्ण गरेको र सुपरिवेक्षकको लागि स्नातक तह वा सो सरह उतिर्ण गरेको.
  • उमेरको हकमा दरखास्त दिने अन्तिम मितिसम्म १८ (अठार) वर्ष पुरा भई ४० (चालिस) वर्ष ननाघेको । महिलाको हकमा ४५ (पैंतालिस) वर्ष ननाघेको ।
  • नेपाली भाषाको अतिरिक्त स्थानीय भाषा बोल्न, बुझ्न र अरुलाई बुझाउन सक्ने व्यक्ति, राष्ट्रियस्तरको गणना तथा सर्वेक्षण वा विभागबाट सञ्चालित कुनै पनि कार्यमा अनुभव हासिल गरेका व्यक्ति, तथ्याङ्क वा जनसंख्या विषय लिई स्नाकोत्तर तहमा अध्ययन गरेका विद्यार्थि वा सो तह उतिर्ण गरेका व्यक्ति लाई क्रमशः विशेष प्राथमिकता हुनेछ।  
जनगणनामा गणकले १ महिनाको लागि र सुपरिवेक्षकले २ महिनाको लागि करारमा सेवा लिइनेछ। गणकको तलव नेपाल सरकारका खरिदार सरह करिव २६ हजार र सुपरिवेक्षकको हकमा नायव सुव्वा सरह करिव २८ हजार मासिकरुपमा पाउनेछन् ।  

FAQs

Collection of most frequently asked questions by users